Thursday, March 10, 2016

९.(लघु कथन) शङ्काको पहरा

लघु कथन
शङ्काको पहरा
सरण राई
म अस्पतालको जनरल वार्डमा कुरुवा बसेको छु | छेउको पल्लो बेडको बिरामीलाई उस्को कुरुवाले टोइलेट लिएर गएको छ |
बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ | कामदार आएर तन्ना फेर्छिन् | मोबाइल सेट यताउता सार्छिन् | आफ्नो काम सकेर उनी जान्छिन् | म मोबाइल सेट देख्तिनँ | मेरो मनमा शङ्काको पहरा बन्छ | मोबाइल सेट पक्कै पनि कामदारले लागेको हुनुपर्छ |
बिरामी र कुरुवा फर्किन्छन् | मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु |
तर उनीहरुले त्यस्तो केहि गरेनन् | म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु | सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ |
मेरो छट्पटिएको मन शान्त हुन्छ |तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु --'गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ | इमानदार भएकैले गरिब छ |किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?'

२०७१ चैत ३० , मेडिकेयर अस्पताल

सरण राईको कथा सङ्ग्रह 'अन्तिम स्वीकारोक्ति' सबै साझा पुस्तक पसलहरुमा पाइन्छ |


Wednesday, February 17, 2016

८.(लघु कथन ) हार्न नचाहने मान्छे

(लघु कथन )
हार्न नचाहने मान्छे
सरण राई
उसले आफ्नो लामो जिन्दगी फर्केर हेर्यो | जितेको अनुभूति भएन | ऊ सधै हारेको रहेछ | पेट पाल्ने शुसेधन्दामै उसको सम्पूर्ण जीवन बितेको रहेछ |
सम्झेर निस्सार जीवन उसको मन हुडलिएर आउँछ | आँखामा आँसु आउँनुका साथै उसको मन एक तमासको हुन्छ . थाहै नपाई व्यर्थ गएको जिन्दगी सम्झेर आँसु तर्तरी झर्छ |
ऊ स्कुलमा पढ्दा कविता लेख्ने गर्थ्यो | आज अचानक उसलाई कविता फुर्छ | लेख्छ मन ,मुटु र मगजमा थुप्रिएको अनगिन्ती पीडा, व्यथा र ... के के !
कविता सुन्दर बन्छ | स्थानीय पत्रिकामा छपाउछ | असफल एउटा सङ्गीकारलाई त्यो कविता मन परेछ | निकै मिहिनत गरेर सङ्गीत भर्छ | गाउने कसले ? एउटा असफल गायकलाई त्यो गीत गाउँन लगाउछ |
गीत 'सुपरहिट ' हुन्छ | सुन्नेहरु कोहि क्वाँक्वाँ रुन्छन भने कोहि अत्यन्त प्रसन्न भएर मुस्कुराउँछन् | कस्तो अचम्भको गीत ! सबको मन र मुटु छुन सफल हुन्छ | सबै त्यो गीत गुन्गुनाउन मन पराउछन् |
त्यो एउटै कविता-गीतले तीनजना हार्न लागेका मान्छेहरुलाई हार्न दिदैंन | उनीहरु त्यो एउटै कविता-गीत जीवन्त रहुन्जेल बाँचिरहेका हुनेछन् |
ऊ असाध्य बिरामी भएको खबर सुनेर संगीतकार र गायक उसलाई भेट्न जान्छन् | उनीहरु कविको उपचारको लागि जति पनि खर्च गर्न तयार थिए | तर ऊ मान्दैन , भन्छ -- " बरु त्यहि गीत मलाई सुनाउनुहोस , म सुन्दै मर्न चाहन्छु | " गीत सुन्दै उनी बिते |
हार्न नचाहने मान्छे आफ्नो कृति र असल कामले सदैव जीवित रहन्छ | ऊ बिजेता बन्छ |
२०७१ फागुन ६ ,

इन्द्रबहादुर राई  र सरण राई

Tuesday, February 16, 2016

(साहित्यमा नयाँ बिधा—लघु कथन) छ वटा लघु कथनहरु

(साहित्यमा नयाँ बिधा—लघु कथन)
                                                        एक
आफ्नो घर
सरण राई
मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ ।
मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो । हो पनि, घर मरम्मत, सह्यारसम्भार, सुग्घर सफाइ गरेर घर सुन्दर राख्नमा उनीहरूको ठूलो योगदान छ । म नबसे पनि उनीहरू यो घरमा बसिरहने छन् ।
घर भत्कियो भने मलाई भन्दा बढि उनीहरूलाई नोक्सान हुनेछ । उनीहरू घरबारविहीन हुनेछन् । तसर्थ पनि उनीहरूको मान्यता छ , ‘घर भइरहनु पर्छ ।’ तर विवाद छ , घर कस्को ? घर बनाउने मेरो कि उनीहरूको ?
सबै जीवितहरूको जस्तै घरमा वा पृथ्वीमा बस्ने मेरो अवधि धेरै छैन । घर उसैको हो जो त्यहाँ बस्छ । बसुन्जेल उसले ‘आफ्नो घर’ भन्छ तर अन्तमा घर उसको पनि हुँदैन ।
र, अब मैले आफूले बनाएकै भए पनि घरलाई ‘आफ्नो घर’ भन्न छाडेको छु ।
***
"बागियान" ,साहित्यिक द्वैमासिक , वर्ष १, अङ्क १



दुई 
कल्पनाको सुख
सरण राई
तीनजना खाइलाग्दा सुन्दरी तरुनीहरु आइरहेका छन् | म ति तीनमध्ये एकजना रोज्छु | राम्री 'गर्ल फ्रेन्ड ' आनन्दविभाेर हुन्छु | म तन्नेरी हुन्छु |
तिनीहरु गइरहेका छन् , फर्कीफर्की हेर्छु |
"धत् , मलाई के भएको होला ? भर्खर 'डायलोसीस' गरेर उधारो जीवन बाँचिरहेको छु | कस्तो कल्पना गर्न पुगेछु ...गर्लफ्रेन्डसँग घुमफिर रमाइलो गरि रहेको !"
म आफ्नो कल्पना सम्झेर आफै मुस्कुराउछु | मलाई मेरै उमेरका अर्थात ६० / ६१ वर्षकी एकजना महिलाले हेरिरहेकी हुन्छे , पनि मलाई हेरेर मुस्कुराउछे | सायद झुक्कीएकी हुन्छे |
मधुर कल्पना गरेर एक निमेष म आनन्दविभोर भएँ | मैले के बिराएँ ? कल्पनाको सुख प्राप्त गर्ने मेरो अधिकार कुनै तानासाहले खोस्न सक्छ ? सक्तैन | कल्पनाको आनन्द सबै जीवित प्राणीहरुको जस्तै मेरो पनि नैसर्गिक अधिकार हो ...| अस्ताउने अँध्यारोमा एक झलक उज्यालोको लागि कल्पिए...!?
२०७१ चैत ३० , मेडिकेयर अस्पताल
"बागियान" ,साहित्यिक द्वैमासिक , वर्ष १, अङ्क ३
***
तीन
कथावाचकको न्याय
सरण राई
सबैभन्दा पहिला कथाबाटै साहित्यको सुरुवात भयो | थुप्रै कथाहरुमध्ये एउटा कथा "बाघ आयो " भन्ने कथाको सम्झना मलाई भइरहेको छ |
गोठालाले "बाघ आयो ""बाघ आयो " भन्दै गाउँलेहरुलाई झुक्याउथ्यो | एकदिन साँच्चै बाघ आउदा कसैले पत्याएनन् | कोहि आएनन् र बस्तुभाउ बाघले खाइदियो |
यहाँ कथावाचकले बाघले गोठालोलाई पनि खाएको वा चिथोरेर घाइते बनाएको कथा भन्न मिल्थ्यो | उनले त्यसो नभन्नु वा गोठालोलाई सहिसलामत राख्नु कथावाचक वा कथाकारको न्याय हो | उनले कथामा आफुले चाहेको उद्देश्य प्राप्त गरिसकेपछि गोठालो वा मुख्य पात्र नायकलाई अनावश्यक दु:ख दिन चाहेनन् |
यहि नै साहित्यले समाजमा स्थापना गर्ने न्याय हो |
२०७१ कार्तिक १४, धरान
http://facebooklit.blogspot.com/\
***
चार
त्यो मान्छे
सरण राई
त्यो मान्छे र म युवा कालमा घनिष्ट साथी थियौँ ।
नोकरी गरेपछि सहरमा मैले घर बनाएँ | विद्यावारिधि सोधार्थी भएको बेला ऊबाट थुप्रै पुस्तकहरू सहायक सामग्रीको रूपमा लिएँ ।
विविध कारणवश मैले विद्यावारिधि पनि गर्न सकिनँ र सहरको घर पनि बेचेर पुरानो बजार नै फर्किएँ । उसका पुस्तकहरू फर्काउन सकेको थिइनँ ।
बिसौं वर्ष पछी अचानक पुरानो बजारको सडकको रेलिङ्गमा बसेर युवाहरू जस्तै खुट्टा हल्लाउदै बसिरहेको उसलाई भेटेँ र सोधेँ ‘तपाईँको पुस्तकहरू तपाईँको सहरको घरमा ल्याईदिने छु ।’
‘ पर्दैन । सहरको घर मैले पनि बेचेँ, जागिर पनि छोडेँ । ती पुस्तकहरू कुनै पुस्तकालयलाई उपहार दिए हुन्छ ।’ उसले जवाफ दिएको हुन्छ ।
त्यतिबेला आज जस्तो मोबाईल र फोन केहि थिएन | तसर्थ भेट्ने वा सम्पर्क गर्ने माध्यम पनि केहि भएन | त्यसपछि त्यो साथीसँग फेरि भेट भएको छैन । आज अचानक उसको सम्झना आएर मौरीले चिल्दा झैँ मन र मुटु चसक्क दुखिरहेछ । ऊ बेठेगान भएछ मजस्तै । ऊ कहाँ होला वा नहोला ? मान्छेको जुनी ! के भर हुन्छ र ?
आज हाँसिरहेको,बाँचिरहेको हामीलाई पनि धेरै वर्षपछि हाम्रो अनुपस्थितिमा यसरी सम्झने कोही होलान् ? हामी सबै बेठेगान हुन्छोँ । हामी सबै ‘दुई दिनको पाहुना’....मन झन् खिन्न हुन्छ ।
***
पाँच
सपना र जीवन
सरण राई
....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दाभाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्छ | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!
२०७१ माघ १६ बिहिबार , धरान |
***

महान साहित्यकार
सरण राई
महान साहित्यकार फेसबुकमै जन्मियो , बाँच्यो र मर्यो | उसले फेसबुकमा थुप्रै कविता , अकविता , कथा, अकथा र अन्य रुचिकर सुन्दर रचनाहरु जन्मायो र विभिन्न साहित्यिक ग्रुपहरुमा पोस्ट गर्यो | धेरैले पढ्दै नपढी 'लाइक' गरे |महान साहित्यकार मख्ख पर्दै रह्यो | अझ धेरै रचनाहरु पोस्ट गर्दै रह्यो |
रचना पोस्ट गर्नु उसको लत भयो | अझ धेरै रचनाहरु पोस्ट गर्दै रह्यो | कुनै समालोचक फेसबुकमा थिएन| फेसबुकको रचनाको कमेन्ट गरेर कोहि गतिलो समालोचक हुन् सक्तैन, भन्ने समालोचकहरुले बुझेका थिए | हल्का कमेन्ट... कमेन्ट गर्नेहरु त धेरै थिए तर ति रचनाका पारखीहरु थिएनन् |
जेहोस फेसबुकको 'लाइक र कमेन्ट'हरुले उसलाई आफु महान साहित्यकार भएको भ्रम दियो |
त्यही भ्रममा ऊ फेसबुकमा जन्मियो महान साहित्यकार भएर , ऊ फेसबुकमा बाँच्यो महान साहित्यकार भएर , ऊ फेसबुकमा मर्यो महान साहित्यकार भएर !
कति मिठो भ्रम थियो , भ्रममा बाँच्नु कति रमाइलो थियो | जीवन भनेकै के हो र ? भ्रम त हो , अहिले म छु , भोलि हुने छुइनँ | म ,हामी जो कोहि पनि साश्वत र सत्य हौँ भने त भोलि पनि हुन्थ्यो , सधै हुन्थ्यो | अहिले छ भोलि हुँदैन भने अहिले भएका सबै पानीको फोकाजस्तो भ्रम मात्रै रहेछन् |
महान साहित्यकारले यो बुझेको रहेछ तसर्थ ऊ कहिल्यै साश्वत र सत्यको पछी लागेन | भ्रमलाई सत्य सरह माया गर्न सक्ने ऊ साँच्चै महान थियो |
( म पनि त्यहि साहित्यकारको सिको गरिरहेको छु र भ्रममै बाँच्न विवश भएको छु | भ्रमलाई सत्यलाई भन्दा बढि माया गर्न थालेको छु |)
***
राज आशातीत
राज आशातीत निक्कै राम्रा कथनहरु!
Sanjog Nepali
Sanjog Nepali स्तरीय र मनछुने
Rameshwar Singh
Rameshwar Singh Yehi ta ho jeeban !!!!!

सात (लघु कथन) मालिक कि नोकर

(लघु कथन)
मालिक कि नोकर
सरण राई
एउटा राजा थियो | उसले जीवनमा धन माथि धन थुपार्यो | उसका सन्तान थिएनन् | सन्तान होला कि भन्ने आशामा जेठी रानीको मृत्युपछी भर्खरकी केटि विवाह गर्यो | अचानक उसको मृत्यु भयो | सारा सम्पत्ति कान्छी रानीको भयो | कान्छी रानीले एकजना नोकरसित विवाह गरी |
त्यो नोकर राजाको सारा सम्पत्तिको मालिक भयो | त्यसपछि उसले भन्यो -" मैले जिन्दगीभरी राजाको लागि काम गरेँ  भन्ने सम्झिरहेको थिएँ | होइन रहेछ बरु राजाले नै जिन्दगीभरी मेरो लागि काम गरेको रहेछ |"
को मालिक को नोकर ? मृत्युपछि मात्र पो टुङ्गो लाग्दो रहेछ |
हामी पनि आफुलाई अति महत्वाकाङ्क्षी बनाएर अनेक रानीहरुका  दास हुन्छौ |अहिले बाँचिरहेका हामी आफुलाई राजा नै सम्झिरहेका हुन्छौँँ | कालान्तरमा मात्र थाहा हुनेरहेछ हामी राजा कि नोकर !

२०७२ फागुन ४ , धरान
******



(साहित्यमा नयाँ बिधा—लघु कथन)

लघु कथन साहित्यमा नयाँ विधा हो |लघु कथनमा लघु कथामा जस्तै लघु कथा हुन्छ ,तर त्यो कथा लघु कथन वाचकको कथनलाई पुष्टि गर्ने किसिमको हुन्छ | लघु कथामा कथाकारको आफ्नो भनाइ हुदैन तर लघु कथनमा कथन वाचकको आफ्नो कथन  राखिएको हुन्छ |
लघु कथन = कथन वाचकको कथनलाई पुस्टि गर्ने लघु कथा + कथन वाचकको कथन